नवराज अवस्थी, २०८२-१२-१६ बेलौरी कञ्चनपुर। ।।
नेसनल लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा बेलौरीको आयोजनामा समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरिएको छ। शुक्रबार एक औपचारिक समारोहका बीच ग्रामीण भेगका सदस्यहरूलाई वित्तीय रूपमा सचेत, आत्मनिर्भर तथा जिम्मेवार बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको शाखाले जनाएको छ।
नेपालमा बैंकिङ पहुँचबाट टाढा रहेका ग्रामीण तथा विपन्न समुदायलाई औपचारिक वित्तीय सेवासँग जोड्ने लक्ष्यसहित स्थापना भएका लघुवित्त संस्थाहरूले पछिल्लो समय आर्थिक समावेशीकरणमा महत्वपूर्ण योगदान पुर्याउँदै आएका छन्। २०७० सालमा स्थापना भई नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको वित्तीय संस्थाको मान्यता प्राप्त गरेको National Laghubitta Bittiya Sanstha Ltd.� ले हाल सातै प्रदेशका ७४ जिल्लामा सेवा विस्तार गर्दै १८५ भन्दा बढी शाखा कार्यालयमार्फत हजारौं सदस्यलाई बचत तथा कर्जा सेवा प्रदान गर्दै आएको छ।
विशेषगरी महिला सशक्तीकरण, स्वरोजगार प्रवर्द्धन, साना उद्यम विकास तथा ग्रामीण अर्थतन्त्र सुदृढीकरणमा संस्थाले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। तर पछिल्लो समय बढ्दो ऋण भार, वित्तीय अनुशासनको कमी, अनुत्पादक क्षेत्रमा कर्जा प्रयोग तथा आर्थिक योजना अभावका कारण सदस्यहरूमा वित्तीय सचेतनाको आवश्यकता झन् बढ्दै गएको देखिन्छ।
यिनै विषयलाई मध्यनजर गर्दै आयोजित समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रममा समूह सञ्चालनको प्रभावकारिता, नियमित बैठकको महत्व, बचतको संस्कार, कर्जाको सही सदुपयोग, समयमै किस्ता भुक्तानी, आय–व्यय व्यवस्थापन तथा आर्थिक अनुशासनका विषयमा विस्तृत रूपमा सहजीकरण गरिएको थियो। कार्यक्रममा सहभागी समूह अध्यक्षहरूलाई समुदायस्तरमै वित्तीय चेतना फैलाउन तथा सदस्यहरूलाई जिम्मेवार आर्थिक व्यवहारतर्फ प्रेरित गर्न आग्रह गरिएको थियो।
कार्यक्रमको अवसरमा संस्थाप्रति जिम्मेवार, अनुशासित तथा सक्रिय भूमिका निर्वाह गर्ने उत्कृष्ट सदस्यहरू तथा उत्कृष्ट समूहहरूलाई सम्मान समेत गरिएको थियो। नियमित बचत, समयमै कर्जा भुक्तानी, संस्थागत नियमको पालना तथा समूह सञ्चालनमा उत्कृष्ट योगदान पुर्याउने सदस्य र समूहलाई प्रमाणपत्रसहित सम्मान गरिएको शाखाले जनाएको छ।
कार्यक्रममा बोल्दै सहभागीहरूले लघुवित्त कार्यक्रमलाई केवल ऋण प्रवाहको माध्यमका रूपमा नभई ग्रामीण समाजको आर्थिक तथा सामाजिक रूपान्तरणसँग जोडिएको अभियानका रूपमा लिनुपर्ने धारणा व्यक्त गरेका थिए। शाखाले यस्ता कार्यक्रममार्फत सदस्यहरूलाई वित्तीय रूपमा सक्षम, अनुशासित र आत्मनिर्भर बनाउँदै दिगो आर्थिक विकासमा टेवा पुर्याउने विश्वास व्यक्त गरेको छ।
लेखकको बारेमा

- Deep News
थप आर्टिकलहरु :
- १९ असार २०८३, शुक्रबार १६:०८Blogbelauri Swasthya
- १९ असार २०८३, शुक्रबार १६:०७Blogbelauri Swasthya
- १४ असार २०८३, आईतवार ०९:५९स्वास्थ्यईशान मेमोरियल अस्पताल र नेसनल लघुवित्त बेलौरी शाखाबीच स्वास्थ्य सेवा सम्झौता
- १० असार २०८३, बुधबार २०:४३अर्थबेलौरी नगरपालिकाको ९४ करोड ५५ लाखको बजेट सार्वजनिक, विकास र सेवा प्रवाहलाई प्राथमिकता