नवराज अवस्थी, श्रावण २०, बेलौरी कञ्चनपुर — कञ्चनपुरको बेलौरी नगरपालिकामा वर्षौंदेखि जमिनको कानुनी स्वामित्वविहीन जीवन बिताउँदै आएका किसानहरूको लागि ऐतिहासिक दिन आएको छ। मंगलबारदेखि नगरपालिकाको वडा नं. ३ र ५ मा एकैपटक ऐलानी जमिनको नापजाँच प्रक्रिया सुरु गरिएको छ।
बेलौरी नगरप्रमुख पोतिलाल चौधरीले नापजाँच कार्यको औपचारिक सुरुआत गर्दै यस अभियानले जमिनविहीन, सुकुमबासी र अव्यवस्थित बस्तीमा बसोबास गर्दै आएका नागरिकहरूलाई कानुनी अधिकार दिलाउने बताए। “यो केवल प्रशासनिक प्रक्रिया होइन, जनताको स्वाभिमान र अधिकार स्थापना गर्ने हाम्रो ऐतिहासिक अभियान हो,” मेयर चौधरीले भने। “दुई वडाबाट थालिएको यो कार्य क्रमशः अन्य वडामा पनि विस्तार गरिनेछ।”

वडा नं. ५ का अध्यक्ष लाल बहादुर चौधरीले वडामा नापजाँच सुरु भएसँगै वर्षौंदेखिका आशाहरू बलियो बनेको बताए। “जनताले अब कानुनीरूपमा जमिनको मालिक बन्ने अवसर पाएका छन्,” उनले भने, “यो हाम्रो वडाको लागि ऐतिहासिक अवसर हो।”

भूमि समस्या समाधान आयोग कञ्चनपुरका अध्यक्ष नेत्रप्रकाश पन्तका अनुसार जिल्लाभर विभिन्न पालिकाहरूमा नापजाँच अभियान सञ्चालित छ। उनका अनुसार बेलौरी नगरपालिका यस अभियानमा सक्रियताका साथ अग्रसर भएको पालिका हो। आयोगका सदस्य दिल बहादुर देउवाले बेलौरीमा छुटफुट नागरिकलाई समेत समावेश गर्दै नापजाँच कार्य अघि बढाइएको बताए।
बेलौरीमा हालसम्म ५ हजार ५ सय ३१ किसानले नापजाँचका लागि फारम भरेका छन्। आयोगका सदस्य सचिव दिवैराज भट्टका अनुसार नापजाँच सकिएपछि लालपुर्जा वितरण प्रक्रिया पारदर्शिता र निष्पक्षताका आधारमा निरन्तर रुपमा अघि बढाइनेछ।
नगरपालिकाको यो अभियानले न केवल जमिनको कानुनी स्वामित्व दिन थालेको छ, तर भूमिहीन वर्गको सामाजिक र आर्थिक रूपान्तरणतर्फको यात्राको थालनीसमेत भएको स्थानीयले बताएका छन्। नापजाँचपछि लालपुर्जा प्राप्त गर्ने किसानहरूलाई कृषि ऋण, सरकारी अनुदान, बीमा र अन्य सेवा सुविधामा पनि सहज पहुँच हुने अपेक्षा गरिएको छ।
लेखकको बारेमा

- Deep News
थप आर्टिकलहरु :
- १९ असार २०८३, शुक्रबार १६:०८Blogbelauri Swasthya
- १९ असार २०८३, शुक्रबार १६:०७Blogbelauri Swasthya
- १४ असार २०८३, आईतवार ०९:५९स्वास्थ्यईशान मेमोरियल अस्पताल र नेसनल लघुवित्त बेलौरी शाखाबीच स्वास्थ्य सेवा सम्झौता
- १० असार २०८३, बुधबार २०:४३अर्थबेलौरी नगरपालिकाको ९४ करोड ५५ लाखको बजेट सार्वजनिक, विकास र सेवा प्रवाहलाई प्राथमिकता