
बेलौरी, पौष २०। बेलौरी नगरपालिका वडा नम्बर ५ मा रहेको नमुना विद्यालयका रूपमा विकसित श्री जननमुना माध्यमिक विद्यालयको २४औँ वार्षिक उत्सव समारोह आज भव्य रूपमा सम्पन्न भएको छ। जनश्रम, सामुदायिक सहयोग र संस्थागत साझेदारीको उदाहरण बनेको यस विद्यालयको वार्षिक उत्सव विविध कार्यक्रमसहित सम्पन्न भएको हो।
कार्यक्रमको सभाध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमर सिंह चौधरीले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा बेलौरी नगरपालिकाका नगरप्रमुख पोतिलाल चौधरी रहनुभएको थियो। विशिष्ट अतिथिमा बेलौरी नगरपालिकाका नगर प्रवक्ता हर्कबहादुर भुल सहभागी रहनुभएको थियो।
समारोहमा बेलौरी नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष लालबहादुर चौधरी, वडा सदस्य कृपाराम चौधरी, रामनगर सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष दीपा चौधरी, विद्यालयका पूर्व व्यवस्थापन समिति पदाधिकारीहरू, विभिन्न संघ–संस्थाका प्रतिनिधिहरू, शिक्षक, विद्यार्थी तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नगरप्रमुख पोतिलाल चौधरीले जननमुना माध्यमिक विद्यालयको भौतिक संरचना निर्माणमा प्रयोग भएको जनश्रम देशभर चर्चामा रहेको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको जनश्रम अभियानभन्दा पनि बढी भएको दाबी गर्नुभयो। उहाँले जननमुना मावि स्थानीय समुदायको एकता, श्रम र त्यागबाट उभिएको नमुना विद्यालय भएको उल्लेख गर्नुभयो।
यस अवसरमा रामनगर सामुदायिक वन उपभोक्ता समितिले विद्यालयको शैक्षिक तथा भौतिक विकासका लागि हालसम्म करिब १ करोड १६ लाख रुपैयाँभन्दा बढी सहयोग गरिसकेको जानकारी गराइएको छ। साथै समितिले आज मात्रै थप २० लाख रुपैयाँको चेक विद्यालयलाई हस्तान्तरण गरेको छ।

त्यस्तै रामनगर सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष दीपा चौधरी तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमर सिंह चौधरी दम्पतिले आफ्ना स्वर्गीय छोरा रेगन दहितको स्मृतिमा अक्षय कोष स्थापनार्थ गत वर्ष नै ५ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको थियो। सोही प्रतिबद्धताअनुसार आज दोस्रो किस्ताका रूपमा ५१ हजार ५ रुपैयाँको चेक विद्यालयलाई प्रदान गरिएको हो।

कार्यक्रममा बोल्दै वडा नम्बर ५ का वडाध्यक्ष लालबहादुर चौधरीले जननमुना माध्यमिक विद्यालय वडा नम्बर ५ को मात्र नभई सम्पूर्ण नगरको शैक्षिक पहिचान बनेको बताउनुभयो। उहाँले नमुना विद्यालयका रूपमा विकसित यस संस्थालाई अझ व्यवस्थित र गुणस्तरीय बनाउन वडाबाट आवश्यक सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

वार्षिक उत्सव समारोहका अवसरमा विद्यालयको वार्षिक प्रगति विवरण सार्वजनिक गरिएको थियो। साथै विद्यार्थीहरूले सांस्कृतिक नृत्य, गीत, नाटक तथा विविध प्रतिभा प्रदर्शन प्रस्तुत गरेका थिए। विद्यालयको शैक्षिक, भौतिक तथा व्यवस्थापकीय विकासमा योगदान पुर्याउने व्यक्ति तथा संस्थाहरूलाई सम्मान तथा धन्यवाद ज्ञापनसमेत गरिएको थियो।
वक्ताहरूले जननमुना माध्यमिक विद्यालय जनश्रम, सामुदायिक लगानी र स्थानीय स्वामित्वबाट उभिएको नमुना विद्यालय का रूपमा अझ सुदृढ बन्दै गएको उल्लेख गर्दै यसको दीर्घकालीन विकासका लागि सबै पक्षको साझा प्रयास आवश्यक रहेकोमा जोड दिएका थिए।

लेखकको बारेमा

- Deep News
थप आर्टिकलहरु :
- ८ जेष्ठ २०८३, शुक्रबार २१:३५कृषिनेसनल लघुवित्तको पहल : गाउँस्तरमै वित्तीय चेतना विस्तार
- ३१ बैशाख २०८३, बिहीबार २१:४३Blogबेलडाँडीमा व्यवसायिक बंगूरपालन तालिम सम्पन्न
- ३० चैत्र २०८२, सोमबार १३:४३शिक्षाबेलौरी–४ मा निःशुल्क कम्प्युटर तालिम सञ्चालन हुने
- १७ फाल्गुन २०८२, आईतवार १४:३९Blogपुनर्वास महोत्सव २०८२: १० दिनमा १ लाख ५० हजार दर्शकको अपेक्षा