नेशनल लघुवित्तद्वारा बेलौरी ५ शोभातसलमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

नवराज अवस्थी, पुस ०४,कञ्चनपुर, बेलौरी।नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय बेलौरीले स्थानीय समुदायका सदस्यहरूलाई लक्षित गरी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ। बिहीबार शोभा तालमा आयोजित कार्यक्रमको मुख्य उद्देश्य सदस्यहरूलाई वित्तीय ज्ञान प्रदान गर्नुका साथै उनीहरूको आर्थिक व्यवस्थापनमा सशक्त बनाउनु रहेको थियो। 

कार्यक्रम बेलौरी ५, शोभातसलमा सम्पन्न भएको हो, जसमा संस्थाका समूह नं. ८०, ८३, ८८ र ९९ का ३६ जना सदस्यहरूको उत्साहजनक सहभागिता रहेको थियो।

कार्यक्रमको क्रममा सहभागी सदस्यहरूलाई सदस्य परिचयपत्र प्रदान गरिएको थियो। यस परिचयपत्रका आधारमा सदस्यहरूले माय मेट्रो अस्पताल र सिपी अस्पतालमा उपचारका लागि ५% देखि २०% सम्म छुट पाउने विशेष सुविधा प्राप्त गर्ने व्यवस्था गरिएको छ। यसले सदस्यहरूको स्वास्थ्य सेवामा पहुँच बढाउनुका साथै आर्थिक भार घटाउन सहयोग पुग्ने विश्वास गरिएको छ।

कार्यक्रम कार्यालय प्रमुख बमकृष्ण ओलीको नेतृत्वमा शाखा कार्यालयका सहायक कर्मचारी र स्थानीय बुद्धिजीवीहरूको विशेष उपस्थितिमा सञ्चालन गरिएको थियो। कार्यक्रममा सहभागी सदस्यहरूले वित्तीय योजनाको महत्व, ऋण व्यवस्थापन, बचतको आवश्यकता, र अन्य वित्तीय सेवाका बारेमा जानकारी हासिल गरे।

 शाखा प्रमुख  ओलीले वित्तीय साक्षरताको महत्त्वमाथि प्रकाश पार्दै यस्ता कार्यक्रमहरूले सदस्यहरूलाई आत्मनिर्भर र सशक्त बनाउन योगदान पुर्‍याउने बताए। साथै, उनले भविष्यमा यस्ता कार्यक्रमलाई अझ व्यापक बनाउँदै थप सदस्यहरूलाई समेट्ने योजना रहेको जानकारी दिए।

स्थानीय समुदायका लागि अत्यन्त उपयोगी ठहरिएको यस कार्यक्रमले वित्तीय साक्षरता अभिवृद्धि गर्दै सदस्यहरूको जीवनस्तर सुधार्न सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ। सहभागीहरूले पनि यस प्रकारका गतिविधिले आर्थिक, सामाजिक र व्यावसायिक उन्नतिमा सहयोग पुर्‍याउने जनाएका छन्। यस्ता कार्यक्रमहरूले दीर्घकालीन रूपमा समुदायलाई फाइदा पुर्‍याउने हुँदा संस्थाले यसको निरन्तरता दिने प्रतिवद्धता जनाएको छ।

Leave a Reply