हरिश बम बैतडी २०८१ कार्तिक २४
बैतडी जिल्लाको पुर्चौडी नगरपालिका वार्ड न ०२ मडमा अबस्थित यश क्षेत्रको शक्तिशाली पिठ्को रुपमा रहेको दड्मेता समैजी मन्दिरमा दुई दशक लामो प्रतीक्षापछि, स्थानीय समुदायमा ठूलो चाड पर्व मानिएको जात्रा फेरि सुरु भएको छ। यस पर्वलाई धार्मिक, सांस्कृतिक एवं सामाजिक जीवनको अभिन्न अंग मानिन्छ । बिभिन्न कारणले गर्दा यो जात्रा विगतका दुई दसकदेखि निरन्तर रूपमा सम्पन्न हुन सकेको थिएन। तर अहिले, स्थानीय बासिन्दाको सक्रियता र सहयोगमा यो जात्रा पुनः सुरु भएको छ ।असोज शुक्लअष्ठमीका दिन मन्दिरलाई पवित्र जल र फूलअक्षताले शुद्ध गरी विधिवत रूपमा सुरु गरिएको पूजाअर्जनाको सबैभन्दा महत्वपूर्ण दिन अाज कार्तिक शुक्ल अष्ठमीमा स्थानीय न्वाघर, मड, खर्क, सिमचानीबाट बाजागाजा झाकी सहित भव्य रूपमा जात्रा सम्पन्न भएको छ । यस जात्राको माैलिक पक्ष भनेको स्थानीय समुदायले परम्परा अनुसार होम, पोखल (प्वा (सैया), सेल, केरा अादि) मन्दिरमा चढनउने र उक्त प्रसाद जात्रामा उपस्थित सबैलाई बाढ्नु रहेको छ ।
जात्रामा परम्परागत रूपमा गरिने पूजा, नृत्य, बाजाहरु (दमाह, झयाली, भोकर, बिकुल) र अन्य सांस्कृतिक कार्यक्रमहरूमा स्थानीय बासिन्दाहरूको उत्साहजनक सहभागिता रहेको देखिन्छ। यस जात्राको पुनरागमनले स्थानीय जीवनमा उत्साह र उमंग थपेको छ भने नयाँ पुस्तालाई आफ्ना परम्परागत संस्कृति र मान्यतासँग नजिक ल्याउने अवसर मिलेको छ।
यस जात्रामा सहभागी हुनेहरूमाझ एक विशेष उल्लास र अपनत्वको भावना देखिएको छ। जात्राको पुनरारम्भले स्थानीय धार्मिक एवं सांस्कृतिक सम्पदालाई बचाइराख्न महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ। साथै यस्तो जात्रा बाधा अड्काउ फुकाएर हरेक वर्ष गर्नुपर्ने माग स्थानीय समुदायको छ ।